बिजुली नजोडिए एकसाथ आन्दोलन गर्ने १९ उद्योगको चेतावनी
भैरहवा — ट्रंकलाइन बक्यौता भन्दै नेपाल विद्युत् प्राधिकरणले भैरहवा-बुटवल औद्योगिक करिडोरअन्तर्गत दुईवटा उद्योगको विद्युत् लाइन काटेपछि त्यस क्षेत्रका १९ वटा उद्योगले काटिएको लाइन दुई दिनभित्रमा जडान नगरेमा एकसाथ आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।
भैरहवा–बुटवल ओद्योगिक करिडोरअन्तर्गत ट्रंकलाइन विवादमा परेका १९ वटा उद्योगका तर्फबाट व्यवसायीको टोली बुधबार प्राधिकरणको भैरहवा र नयाँमिल शाखामा डेलिगेसन गई उक्त चेतावनी दिएका हुन् ।
प्राधिकरणको दुईवटै शाखामा व्यवसायीले ज्ञापनपत्र पनि बुझाएका छन् । व्यवसायीको डेलिगेसनमा सिद्धार्थ उद्योग वाणिज्य संघका पदाधिकारी पनि सहभागी थिए । प्राधिकरणले त्यस करिडोरअन्तर्गत गत रहेको सिद्धार्थ पेट प्लास्ट र घराना फुड्स प्रालिको विद्युत् लाइन गत शुक्रबार काटेको थियो ।
व्यवसायीका तर्फबाट डेलगेसनमा सहभागी रहेका भलवारी स्वचालित चामल कारखानाका सञ्चालक चन्द्रमान श्रेष्ठले विद्युत् प्राधिकरणले २०७४ चैत १४ मा आफ्नो आन्तरिक लोड भार मिलाउने क्रममा भैरहवा-बुटवल औद्योगिक करिडोरको १९ वटा उद्योगको लाइनलाइ ट्रकंलाइनमा पारेर जबर्जस्ती महसुल असुल्न खोजेको आरोप लगाए ।
‘प्राधिकरणले ट्रंक लाइनमा पारिएका त्यस क्षेत्रका कुनै पनि उद्योगले डेडिकेटेड र ट्रंकलाइनको माग नै गरेका छैनन्,’ श्रेष्ठले भने, ‘विद्युत् काटिएका ती उद्योगका लाइन बिनासर्त शुक्रबारसम्म जडान गरिनु पर्छ । अन्यथा सबै उद्योग एकसाथ आन्दोलनमा उत्रिने छौं ।’ नेपाल विद्युत् प्राधिकरण भैरहवा शाखाका प्रमुख सञ्जयकुमार मिश्रले प्राधिकरणको केन्द्रबाटै निर्देशन आएकाले आएकाले ती उद्योगको लाइन काटिएको बताए ।