भारतमा ट्रकको ठक्करबाट सुर्खेतका एकै परिवारका ५ जनाको मृत्यु
१७ कात्तिक, भेरीगङ्गा (सुर्खेत) । भारतमा ट्रकले ठक्कर दिँदा रोजगारीका लागि गएका सुर्खेतका एउटै परिवारका पाँच जनाको मृत्युु भएको छ ।
भारतको कर्नाटक राज्यको गुलवर्गा अवजलपुरको तलकामा बाटो काट्ने क्रममा ट्रकले ठक्कर दिँदा सुर्खेत चौकुने गाउँपालिका-७ का एउटै परिवारका पाँच जना नेपालीको मृत्यु भएको हो ।
मृत्यु हुनेमा सुर्खेत चौकुने-७ अमलाटाकुराका २७ वर्षीय रतन नेवारसहित उनकी श्रीमती २५ वर्षीय अस्मिता नेवार, उनका छोरा पाँच वर्षीय मिलन, अर्का छोरा दुई वर्षीय धड्कन र भाइबुहारी सुस्मिता नेवार रहेको चौकुने–७ का वडाध्यक्ष धनिराम धमलाले जानकारी दिए ।
मृतक रतनका दाइ त्यहाँकै एक अस्पतालमा उपचार गराइरहेको र उनलाई भेटेर फर्किने बेला ट्रकले ठक्कर दिइएको जानकारी प्राप्त भएको वडाअध्यक्ष धमलाले जानकारी दिए ।
मृतक नेवारका परिवार एक वर्षदेखि रोजगारीका लागि भारतमै थिए ।
चौकुने घरमा बुढा बुबाआमा मात्रै रहेको जनाइएको छ । बाबुआमा मात्रै रहेको र बाँकी सबै परिवार रोजगारीका लागि भारतमै रहेको धमलाले बताए ।
घटनाको अनुसन्धानका लागि त्यहाँको प्रशासनसँग माग गरिएको त्यहाँ रहेका नेपालीलाई उदृत गर्दै वडाध्यक्ष धमलाले बताए ।