ब्रेकअपको पीडा, युवतीले आयोजना गरिन् आफ्नै अन्तिम संस्कार !
एक युवतीको आफ्नो प्रेमीसँग ब्रेकअप भयो । प्रेम सम्बन्ध टुट्दा उनलाई यतिधेरै पीडा भयो कि उनले त्यो स्थितिलाई आफ्नो मृत्युसँग तुलना गरिन् । त्यसपछि उनले आफ्नै अन्तिम संस्कारको आयोजना गरिन् ।
चीनको सिचुआन प्रान्तको छेंग्दुमा यो घटना भएको हो । ब्वायफ्रेण्डसँग ब्रेकअप हुँदा पीडामा छटपटाउँदै आफ्नै अन्तिम संस्कार कार्यक्रमको आयोजना गर्ने ती २५ वर्षे युवतीको नाम वांग हो ।
वांगले आफ्नो अन्तिम संस्कार कार्यक्रममा आफ्ना साथीहरुलाई बोलाएकी थिइन् । करिब तीन वर्षको प्रेम सम्बन्धपछि ६ महिनाअघि वांगको उनका प्रेमीसँग ब्रेकअप भएको थियो ।
साउथ चाइना मर्निङ पोस्टका अनुसार वांगले आफू पछिल्ला दिनहरुमा विभिन्न बिहे समारोहमा गएको र त्यस क्रममा साथीहरुले तिम्रो बिहेको भोज कहिले खान पाइन्छ ? भनेर पटक-पटक सोधेपछि उनले आफुलाई मरेतुल्य ठानिन् । त्यसपछि नै उनले आफ्नो अन्तिम संस्कार गर्ने निधो गरिन् । अनि अन्तिम संस्कार कार्यक्रमपछि भोज समेत गरेर त्यसरी सोधीखोजी गर्ने साथीहरुलाई खुवाइन् ।
उक्त भोज सहितको अन्तिम संस्कार कार्यक्रममा उनका करिब १ दर्जन साथीहरु उपस्थित थिए ।
उक्त अन्तिम संस्कार समारोहमा मधुरो प्रकाशयुक्त कोठाभित्र वांग एउटा खाटमा मरेको लासजस्तै बनेर सुतेकी थिइन् । उनको वरिपरि मैनबत्ती बालिएको थियो । उपस्थित साथीहरुले पनि अन्तिम संस्कारमा जस्तै निहुरिएर वांगलाई श्रद्धान्जली दिएर र उनको वरिपरि घेरा बनाएर उभिए ।
त्यसक्रममा उपस्थित साथीहरुले वांगको बारेमा आफ्नो धारणाका साथै जीवन, मृत्यु र चुनौतीहरूका बारेमा पनि आ-आफ्ना विचार व्यक्त गरे । कार्यक्रमपछि सबैजनाले सँगै खाना खाए ।
वांगका अनुसार उनको त्यो अवधारणा धेरैलाई अनौठो लाग्नसक्छ । तर, आफूलाई त्यसले विगतको पीडा भुलेर अघि बढ्ने शक्ति प्रदान गर्ने उनको भनाइ छ ।
आफूले आफ्नो भोजको अनुभव गरिसकेको भन्दै उनले अब पुरानो कुरा बन्द भैसकेको महसुस गरी अगाडि बढ्ने तत्परता हासिल भएको बताएकी छिन ।